Monday, 17 October 2022

दुई महिनामा साढे दुई अर्ब रुपैयाँ बीमा पोलिसी त्याग, सबै भन्दा धेरै नेपाल लाइफकाे - sorce merolagani

 चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ) मा मात्रै बीमितहरुले एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार एक महिनामा मात्रै बीमितहरुले १ अर्ब १४ करोड ८६ लाख ७० हजार रुपैयाँ बराबरको ८ हजार ५२ वटा बीमालेख सरेन्डर गरेका हुन् ।

सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेको छन् । भदौ महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये ३६.७१ प्रतिशत अर्थात २ हजार ९५६ वटा बीमालेख वापत ४१ करोड ४९ लाख ९९ हजार रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो ।

नेपाल लाइफपछि एलआईसी नेपालको धेरै बीमालेख सरेन्डर भएको छ । एलआईसीको २८ करोड १ लाख ९६ हजार रुपैयाँ बराबरको १ हजार ३३८ वटा बीमालेख सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको १६.६२ प्रतिशत हो ।

यस्तै, बीमितहरुले नेशनल लाइफको ८७३ वटा, एशियन लाइफको ६०६ वटा, राष्ट्रिय बीमा संस्थानको ५५३ वटा, मेट लाइफको ३८६ वटा, गुराँस लाइफको ३२३ वटा, सूर्या लाइफको ३०४ वटा, रिलायवल नेपाल लाइफको १५४ वटा र सिटिजन लाइफको १०० वटा बीमालेख त्याग गरेका छन् । बाँकी कुनै पनि कम्पनीको पोलिसी सरेन्डर संख्या १०० माथि रहेका छैनन् ।

सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सानिमा लाइफको २७ लाख ४६ हजार रुपैयाँ बराबरको २३ वटा बीमालेख सरेन्डर भएका छन् ।

दुई महिनामा साढे दुई अर्बको पोलिसी त्याग

चालु आर्थिक वर्षको दुई महिनामा बीमितहरुले साढे दुई अर्ब रुपैयाँ भन्दा बढी बीमा पोलिसी त्याग गरेका छन् ।

बीमितहरुले साउनमा १ अर्ब ५१ करोड २७ लाख रुपैयाँ र भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ गरी दुई महिनामा २ अर्ब ६६ करोड १४ लाख रुपैयाँ बराबरको बीमालेख त्याग गरेका हुन् ।

चालु आर्थिक वर्षको साउनमा बीमितहरुले ८ हजार ४२२ वटा र भदौमा ८ हजार ५२ वटा गरी कुल १६ हजार ४७४ वटा बीमालेखहरु त्याग गरेका छन् । 

पोलिसी सरेन्डर किन हुन्छ?

बीमा समितिले पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएपछि त्यसको कारण खोज्दै आएको थियो । पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएको भन्दै समितिले तीन वर्ष पछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण (त्याग्न) गर्न सकिने व्यवस्था सहित जीवन बीमा सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।

समितिले अघिल्लो वर्षको असार १७ गते पनि एक निर्देशिका जारी गर्दै बीमालेख अन्तगर्त समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिँदा दुईवर्ष पुरा भएपछि मात्र दिन सकिने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था समितिले गरेको थियो ।

त्यस्तो व्यवस्थालाई परिवर्तन गर्दै समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०८७ जारी गर्दै एकल बीमालेखको हकमा पनि बीमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले पोलिसी ल्याप्स र पोलिसी सरेन्डरको दर घट्ने बीमा समितिको बुझाई छ ।

No comments:

Post a Comment